Sunday, November 8, 2026
Homeसामाचारखुम्बुमा असोजमै हिमपात

खुम्बुमा असोजमै हिमपात

सोलुखुम्बु, २१ असोज — सगरमाथा क्षेत्रमा शरद् ऋतुसँगै सुरु हुने पर्यटकीय याम यस वर्ष असामान्य मौसमी परिवर्तनले प्रभावित बनेको छ। असोजको तेस्रो सातामै परेको हिउँले खुम्बु क्षेत्र सेताम्य बनेको छ । सामान्यतया मङ्सिरदेखि माघमा मात्र बाक्लो हिमपात हुने यो क्षेत्रमा असोजमै हिउँ पर्नु दुर्लभ घटना मानिन्छ।

गत आइतबार बिहानदेखि सुरु भएको अविरल वर्षापछि खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो भागमा बाक्लो हिउँ परेको हो। लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र पूर्ण रूपमा सेताम्य बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए।

गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा चार फिटभन्दा बढी हिउँ जमेको थियो।
“नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित बनाएको छ,” उहाँले भन्नुभयो, “दिङ्बोचेका पाँच होटल हिउँको भार सहन नसकी भासिएका छन्, तर मानवीय क्षति भने भएको छैन।”

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका अनुसार छानाको संरचना हिउँको भारले भत्किँदा होटलहरू भासिएका हुन्। “मानवीय क्षति नभए पनि आर्थिक क्षति भने भएको छ,” उनले बताए। पर्यटन याम सुरु भइसकेको बेला परेको हिमपातले व्यापारीहरू चिन्तित बनेका छन्।

असामान्य मौसमको सङ्केत

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार असोज महिनामा हिउँ पर्नु जलवायु परिवर्तनको स्पष्ट संकेत हो।
“असोजमा हिउँ पर्नु मैले कमै देखेको छु, यो दुर्लभ घटना हो,” उनले भने।

उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको मौसम अब निश्चित तालमा चल्दैन । पहिले निश्चित समयमा हिउँ पर्थ्यो र पग्लिन्थ्यो, अहिले त्यो क्रम बिग्रँदै गएको छ।

दैनिक जीवन र कामकाजमा असर

हिमपातपछि खुम्बुका बासिन्दाको दैनिकी सुस्त बनेको छ। असोज २० गते बिहान केही हिउँ पग्लिए पनि चिसोका कारण जनजीवन कष्टकर बनेको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए।

हिउँका कारण निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम पनि रोकिएको छ। वडाध्यक्ष अधिकारीका अनुसार चिसोका कारण मजदुरहरू नाम्चे झरेका छन् र मौसम सुधार भएपछि मात्र काम सुरु हुनेछ।

जलवायु परिवर्तन र हिमाली जीवन

पछिल्ला वर्षमा खुम्बु क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको छ । कहिले असोजमै हिउँ पर्ने, कहिले माघमा पनि नपर्ने स्थिति देखिएको छ। वातावरणविद्हरूका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनले हिमालमा हिउँको मात्रा घट्दै गएको छ, तर छोटो अवधिमा तीव्र हिमपातका घटना बढेका छन्।

“पहिले असोजदेखि मङ्सिरसम्म पर्यटकीय याम रहन्थ्यो,” स्थानीय व्यवसायी तोयकुमार श्रेष्ठले भने, “अहिले हिउँ र वर्षाका कारण बाटो बन्द हुने, उडान रोकिने र होटल खाली हुने समस्या बढेको छ।”

स्थानीयको आग्रह — ‘हिमाल जोगाऔँ, जलवायु सन्तुलन राखौँ’

असोजमै हिमपात भएपछि स्थानीय बासिन्दाले जलवायु सन्तुलनका लागि सरकार र स्थानीय तह दुवैले ध्यान दिनुपर्ने माग गरेका छन्।
नाम्चेका सुमन मोक्तानले भने, “अब हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ । यो हिमालको स्वरूप बदलिँदैछ।”

वडाध्यक्ष अधिकारीका अनुसार ढुवानी, पर्यटन र जनजीवन सबै हिउँसँगै जोडिएको छ, त्यसैले राज्यले यस क्षेत्रमा विशेष जलवायु अनुकूलन कार्यक्रम ल्याउनुपर्छ।

मेरापिक आरोहणमा कोरियाली आरोहीको मृत्यु

महाकुलुङ गाउँपालिका–३ स्थित मेरापिक हिमाल आरोहणका क्रममा असोज २० गते कोरियाली नागरिक टेजुुन पार्कको मृत्यु भएको छ।

डिएसपी कुँवरका अनुसार पार्क असोज १८ गते आरोहणका क्रममा ६,४६० मिटर उचाइमा पुगेका थिए। मौसम खराब भएपछि उनी र नेपाली गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए। खोजतलासका क्रममा शेर्पा ६,१०० मिटरमा जीवित फेला परे भने पार्क मृत फेला परे।
प्रारम्भिक अनुसन्धान अनुसार अत्यधिक चिसो र अक्सिजनको कमी उनका मृत्युका कारण हुनसक्ने प्रहरीले जनाएको छ। शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।

दसैँ सौहार्दपूर्ण वातावरणमा सम्पन्न

हिमपात, दुर्घटना र आरोहणका घटनाबीच पनि सोलुखुम्बुमा यस वर्षको दसैँ उत्साहपूर्वक सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कुनै ठूलो अप्रिय घटना भएको छैन।
डिएसपी कुँवरले भने, “छिटफुट घटनाबाहेक दसैँ शान्तिपूर्वक बित्यो।”

तर असोज १५ गते माप्य दूधकोसी गाउँपालिका–१ जुभिङमा मादक पदार्थ सेवनपछि मंगलमान राईले आफ्नी श्रीमती र दुई छिमेकीलाई खुकुरी प्रहार गरी घाइते पारेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पहिरोले घर बगायो, जनजीवन सुरक्षित

शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका–३ फलामखानीका प्रविण विश्वकर्माको घर बगाएको छ। वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाका अनुसार राति आएको पहिरोले घर पूर्ण रूपमा क्षति पुर्‍याए पनि परिवारका सदस्य सकुशल रहेका छन्।
उक्त घटनामा एक राँगो र चार वटा बाख्रा मरेका छन्। बिहान स्थानीयले स्थलगत निरीक्षण गरी राहतको पहल थालेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका