चन्द्रपुर (रौतहट), २० असोज। अविरल वर्षाका कारण रौतहटको महेशपुर गाउँ जलमग्न बनेको छ। रौतहटको राजपुर नगरपालिका–२ स्थित महेशपुर गाउँका करिब ५० घरमा पानी पसेको वडा अध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीका कारण वडाभित्रका तीन सयभन्दा बढी घरमा क्षति पुगेको छ। वर्षाको प्रभावले धानबाली समेत नष्ट भएको उहाँले बताउनुभयो।
जल तथा मौसम विज्ञान विभागका अनुसार सदरमुकाम गौरमा ३१५ मिलिमिटर वर्षा र गरुडा केन्द्रमा ३०४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। गौरसहित गरुडा नगरपालिकाका गेडहीगुठी लगायतका बस्तीहरू बाढीको पानीले डुबानमा परेका छन्।
बागमती, लालबकैया र झाझसहितका प्रमुख नदीहरूमा पानीको बहाव तीव्र बनेपछि आसपासका अधिकांश बस्ती जलमग्न भएका छन्। झाझ नदीमा आएको बाढीले गौर–गङ्गापिपरा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ।
दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहका अनुसार गाउँपालिकाका पाँचवटै वडाका करिब २५ प्रतिशत घरमा क्षति पुगेको छ। दुर्गा गाउँपालिकामा पनि बाढीका कारण ठूला मात्रामा क्षति भएको उहाँको भनाइ छ।
त्यस्तै, राजपुर नगरपालिका–३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीमा आएको बाढीका कारण सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।
गुजरा नगरपालिका–८ स्थित लमहा खोलामा पानीको सतह बढेपछि बालचनपुर–जङ्गलसैया भित्री सडक बन्द गरिएको नगर प्रमुख शन्तलाल चौधरीले बताउनुभयो। वडा नं ९ अमतवास्थित प्रतीक टोलका करिब १० घरमा पानी पसेको छ।
यसैगरी, वृन्दावन नगरपालिका–१ स्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कार्कीले जानकारी दिनुभयो।


