काठमाडौँ — पछिल्ला दुई दिनमा देशभर विभिन्न विपद्का घटनामा परी ४० जनाको ज्यान गएको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढी, पहिरो, चट्याङ र सवारी दुर्घटनाका कारण १३ जना घाइते भएका छन् भने ११ जना अझै बेपत्ता छन्।
बाढीपहिरोबाट सबैभन्दा बढी क्षति इलाम जिल्लामा भएको छ। इलाममा मात्रै २८ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ।
त्यस्तै, बाढीपहिरोका कारण उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन्। पाँचथरमा सवारी दुर्घटनामा परी छ जनाको मृत्यु र छ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बलले देशभर उद्धार, राहत र खोजी कार्य जारी रहेको जनाएको छ।


