Sunday, November 8, 2026
Homeसामाचारमोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

विराटनगर — अविरल वर्षापछि मोरङका विभिन्न स्थानमा खोलाको पानी बस्तीमा पसेको छ। केसलिया, सिंघिया, बक्राहा, लोहान्द्रा र रतुवा खोलाको बहाव बढेसँगै जिल्लाभरका बस्तीहरू उच्च जोखिममा परेका छन्।

शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले विराटनगर महानगर, उर्लाबारी, सुनबर्षी, धनपालथान र मिक्लाजुङ गाउँपालिकाका बस्तीहरूमा पानी पसेको हो। स्थानीय प्रशासनका अनुसार हालसम्म कुनै जनहानि नभए पनि करिब ७५० भन्दा बढी घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

विराटनगर–१२ केशलिया खोलाको बाँध नाघी बस्तीमा पानी पसेपछि प्रहरी चौकी बखरीबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी करिब ३५० जनालाई बखरी आमा विद्यालय, दरैया आमा विद्यालय र नवनिर्माणाधीन फ्याक्ट्री भवनमा सुरक्षित राखेको छ।

विराटनगर–२ पूर्वटोलमा सिंघिया खोलाको पानी पस्दा करिब ३५ घर प्रभावित भएका छन्। प्रहरी टोलीले स्थानीयको सहयोगमा सबैलाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेको छ।

त्यस्तै, विराटनगर–५ केशलिया ढाटस्थित शंकरबारी टोलमा पनि पानी पस्दा २५ घर प्रभावित भएका छन्। प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी अस्थायी बासस्थानको व्यवस्था गरिरहेको जनाएको छ।

सुनबर्षी नगरपालिका–६ कैनीमा बक्राहा खोलाको बाँध नाघेपछि प्रहरी टोलीले माटो थपेर बाँध मजबुत बनाउने प्रयास गरिरहेको छ। सोही खोलाको पानीले सुनबर्षी–३ बाहुनटोलमा करिब ६० घरमा पानी पसेको छ भने जनप्रतिनिधि र प्रहरी मिलेर राहत र स्थानान्तरण कार्य अघि बढाइरहेका छन्।

धनपालथान गाउँपालिका–६ मा लोहान्द्रा खोलाले बाँध नाघ्दा करिब १५० घरमा पानी पसेको छ। प्रहरी चौकी कर्सियाबाट खटिएको टोलीले स्थानीयलाई सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहेको छ।

उर्लाबारी नगरपालिका–९ बोर्डरलाइन क्षेत्रमा रतुवा खोलाको बाँध फुट्दा करिब २० घर वरपर पानी पसेको छ। हालसम्म घरभित्र पानी प्रवेश नगरे पनि जोखिममा रहेका पाँच घरका २० जना व्यक्तिलाई छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ।

यस्तै, मिक्लाजुङ गाउँपालिका–६ मलामीटहरा क्षेत्रमा नुनसरी खोलाको बाँध कटान हुन थालेको छ। प्रहरी र स्थानीय निकायले संयुक्त रूपमा बाँध मर्मत र रोकथामका कार्य तीव्र पारिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, सुरक्षा निकाय, स्थानीय तह र जनप्रतिनिधिहरू पूर्ण सतर्क अवस्थामा छन्। खोलाको बहाव अझ बढेमा थप स्थानान्तरणका तयारी गरिएका छन्।

बाढीग्रस्त बस्तीमा पूर्वमुख्यमन्त्रीको निरीक्षण

अविरल वर्षापछि मोरङका विभिन्न बस्तीहरूमा खोलाको पानी पसेर डुबान भइरहेका बेला कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन्।

पूर्वमुख्यमन्त्री कार्कीले विराटनगर–१२ केशलिया खोलाको बाँध नाघी पानी पसेका बस्तीहरूमा पुगेर अवस्थाको प्रत्यक्ष अवलोकन र उद्धार कार्यको समन्वय गरेका हुन्। प्रभावित स्थानीयसँग भेटघाट गर्दै उनले तत्काल राहत र स्थायी समाधानका उपायबारे सुझाव दिएका छन्।

कार्कीले भने, “मैले नेतृत्व गर्दा केशलिया कोरिडोरको परिकल्पना गरेको थिएँ। यसले केवल बाढी नियन्त्रणमा मात्र होइन, नागरिकको दिगो जीवनयापनमा पनि सहयोग पुर्‍याउँछ।”

उनका अनुसार, केशलिया कोरिडोर परियोजना दीर्घकालीन रूपमा लागू गर्न सके डुबान, जलनिकास र पूर्वी मोरङका आवासीय क्षेत्रहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्कीले प्रदेश सरकार र स्थानीय निकायलाई तत्काल राहत तथा पुनःस्थापनाको कार्य प्रभावकारी बनाउन आग्रह गर्दै प्रभावित नागरिकलाई नआत्तिन र सतर्क रहन अपिल गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका