काठमाडौँ । सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र त्यसका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरिएको उल्लेख छ ।
मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र अझै असोज २० गतेसम्म तीव्र वर्षा जारी रहने पूर्वानुमान भएकाले बाढी, डुबान, भूक्षय तथा सडक र हवाई यातायात अवरुद्ध हुने जोखिम बढेको छ । त्यस्ता सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा जनाइएको छ । दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला दुई दिन बिदा थप गरिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, “२०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय, संस्था र निकायमा सार्वजनिक बिदा रहनेछ ।”
यस्तै, मन्त्रालयले नागरिकहरूलाई सम्भावित विपद् जोखिमलाई ध्यानमा राखी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा रहन र सरकारी सूचना तथा निर्देशनअनुसार व्यवहार गर्न आग्रह गरेको छ ।
सरकारले वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता जोखिमबाट जनताको ज्यान र सम्पत्ति सुरक्षित राख्नका लागि सबै तहका प्रशासनिक र सुरक्षात्मक निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।


