Sunday, November 8, 2026
Homeसामाचारविशेष कृषि मौसम बुलेटिनः बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

विशेष कृषि मौसम बुलेटिनः बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

काठमाडौँ, १६ असोज – जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएसँगै सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले विभागसँग सहकार्यमा जारी गरेको उक्त बुलेटिनमा किसानलाई भारी तथा अति भारी वर्षाको समयमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार किसानले बुलेटिनमा उल्लेखित सल्लाहहरूलाई पालना गरेमा यस समयमा बालीनालीको क्षति न्यूनीकरण गर्न सकिन्छ।

बुलेटिनमा पाँक्न लागेको धानबाली, तरकारीबाली र फलफूल बगैँचामा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य तत्काल रोक्न, नदी–खोलाछेउका संरचना बाढीको जोखिममा पर्न सक्ने भएकाले सामग्री सुरक्षित स्थानमा सार्न सुझाव दिइएको छ।

त्यसैगरी, असोज १७–१९ सम्म मनसुन सक्रिय रहने पूर्वानुमान भएकाले धान नकट्न, काटिसकिएको भए तत्काल भित्र्याउन, अग्लो ठाउँमा भण्डारण गर्न, तरकारी नर्सरीमा पानी जम्न नदिन निकासको व्यवस्था मिलाउन आग्रह गरिएको छ।

पशुपालनतर्फ, मौरीलाई चिनी चास्नी खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दाना सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका वा बाढी पसेका घाँस–पराल नखुवाउन चेतावनी दिइएको छ। चिसो ठाउँमा भण्डारण गरिएको दानामा ढुसी लाग्ने सम्भावना हुने र यसले पशु र मानव स्वास्थ्यमा दीर्घकालीन असर गर्न सक्ने भएकाले विशेष ध्यान दिन सुझाइएको छ।

यस्तै, खोर चिसो वा हिलो भएको अवस्थामा कुखुरामा बाह्य परजीवी बढ्न सक्ने भएकाले नियमित अनुगमन गर्न, आवश्यक परे दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी नपस्ने गरी निकासमा उपयुक्त जाली राख्न पनि आग्रह गरिएको छ।

मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने शुक्रबारदेखि न्यून चापीय प्रणाली सक्रिय हुने भएकाले देशका धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। यसअनुसार सतर्कता अपनाउन किसान र सर्वसाधारणलाई आग्रह गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका