काठमाडौँ – हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा, साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा, लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा र मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी–तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रहनेछ भने अन्य प्रदेशमा सामान्य बदली हुनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी–तराई भू–भागका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा, साथै मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।


