Tuesday, May 26, 2026
Homeसामाचारशनिबार र आइतबार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन...

शनिबार र आइतबार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप सक्रिय हुने भएकाले मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आज साँझ जारी गरिएको मौसमी बुलेटिनअनुसार आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

अरब सागर र बंगालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय हुने पूर्वानुमान गरिएको छ। मौसमविद् प्रतिमा मानन्धरका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ र शनिबार तथा आइतबार देशका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। सोमबारदेखि भने मौसम क्रमशः सुधार हुने अपेक्षा गरिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

आज राति (शुक्रबार): देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना। केही स्थानमा भारी वर्षा पनि हुन सक्छ।

शनिबार दिउँसो: देशभर साधारणतया बदली। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा सम्भावना। केही स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षा।

शनिबार राति: कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली। ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना।

आइतबार दिउँसो: देशभर साधारणतया बदली। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारी वर्षा सम्भावना।

आइतबार राति: कोशी, मधेस, बागमतीलगायत पहाडी भू–भागमा साधारणतया बदली। केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र कोशी–बागमतीका पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका