काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय गर्दै मातहतका कमिटीलाई सर्कुलर पठाएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेन्डा बनाउने जनाएको छ।
असोज ९–१० गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको निर्णयअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरमा सर्कुलर पठाइएको हो। सर्कुलरमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलहरूको सिफारिसमा विज्ञमार्फत मन्त्रिपरिषद् गठन लगायतका मुद्दा निरन्तर उठाइने उल्लेख छ।
पार्टीले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएको छ। साथै, २०८२ मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन आयोजना गर्ने र त्यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ। संयोजकमा अध्यक्ष प्रचण्ड चयन भएका छन् भने सचिवालय पनि गठन गरिएको छ।
बैठकले समाजवादी मोर्चामा रहेका दलबीच तत्काल एकताको पहल गर्ने निर्णय गरेको छ। एकता भए विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा आयोजना गरिनेछ।
साथै, आन्तरिक शुद्धीकरण र संगठनात्मक सुधारका लागि सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन, जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्ड कार्यान्वयन, प्रविधिमैत्री कार्यालय विकास, र हरेक समितिमा एक तिहाइ युवाको अभ्यास गर्ने निर्णय पनि गरिएको छ।


