Sunday, November 8, 2026
Homeसामाचारजेनजी नाममा १० प्रतिशत निःशुल्क सेयर मागेपछि निजी क्षेत्रले गुहार्‍याे सरकार

जेनजी नाममा १० प्रतिशत निःशुल्क सेयर मागेपछि निजी क्षेत्रले गुहार्‍याे सरकार

काठमाडाैं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समय जलविद्युत आयोजनामा बढ्दो सुरक्षा जोखिमप्रति गम्भीर ध्यान दिँदै गृहमन्त्री र ऊर्जा मन्त्रीलाई पत्र लेखेको छ।

आइतबार पठाइएको पत्रमा इप्पान अध्यक्ष गणेश कार्कीले हाल निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणका लागि तयारी भइरहेका आयोजनामा सरकारको नीति र कानून विपरित १० प्रतिशत निःशुल्क सेयर माग गर्ने र अवरोध गर्ने कार्य बढेकोले सुरक्षा सुनिश्चित गर्न आवश्यक भएको उल्लेख गरेका छन्।

पत्रमा नेपालको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको महत्वलाई ध्यानमा राख्दै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ।

विशेष गरी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनामा भोटेकोशी गाउँपालिका जेनजी समूहको नाममा १० प्रतिशत निःशुल्क सेयर माग गर्दै विगत १७ दिनदेखि विद्युत गृह बन्द रहेको र यसले दैनिक करिब ९८ लाख रुपैयाँ, हालसम्म १६ करोडभन्दा बढी क्षति पुर्‍याएको पत्रमा उल्लेख छ।

विद्युत गृह बन्द भएपनि दैनिक मर्मतसम्भार र अनुगमनको लागि पनि जान नदिइएको घटनाप्रति इप्पानले गम्भीर ध्यानाकर्षण गरेको छ।

सिन्धुपाल्चोककै जुगल गाउँपालिकामा पनि स्थानीयबासीको नाममा १० जलविद्युत आयोजनामा निःशुल्क सेयर माग गर्दै पत्र पठाइएको र अन्य क्षेत्रहरूमा पनि विभिन्न माग राखेर आयोजनामा अवरोध बढेको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ कि अवरोधले आयोजना लागत र समय बढाउने मात्र नभई निजी क्षेत्रको लगानीलाई पनि निरुत्साहित गर्ने जोखिम छ। पछिल्लो वर्षहरूमा ऊर्जा आयोजनामाथि विभिन्न समूहबाट आक्रमण, तोडफोड, आगजनी जस्ता घटनाहरू बढ्दै गएकोले निजी क्षेत्रको लगानी असुरक्षित बनेको भन्दै दीर्घकालीन रुपमा स्वदेशी र विदेशी लगानीकर्ताका लगानी सुरक्षित राख्न ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि माग गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका