Sunday, November 8, 2026
Homeसामाचारओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक डुबाएको: आजपा अध्यक्ष साह

ओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक डुबाएको: आजपा अध्यक्ष साह

काठमाडौँ – आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक र नेकपा (एमाले) दुवैलाई ठूलो क्षति पुर्‍याएको बताएका छन्।

सर्लाहीको लालबन्दीमा शनिबार आजपा मधेस प्रदेश कमिटीको बैठक तथा दशैं, दीपावली र छठ पर्वको शुभकामना कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डामा गुन्डा भेला गर्नुको सट्टा ओलीले सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाब दिएका छन्।

साहले भने, “केपी ओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक जलेको छ। युवाहरूको भावना बुझ्नुको सट्टा उनीहरूलाई प्रहार गर्नुको दशा भोग्नुभयो। यदि त्यही हठ र अहङ्कार रहिरह्यो भने मुलुक अझै दुर्दशा भोग्न सक्थ्यो। त्यसैले मेरो सुझाव छ, सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ।”

उनले देउवा दम्पतिलाई देशप्रतिको माया नभएको आरोप गर्दै, नयाँ पासपोर्ट किन बनाइयो र भागेर सुख पाइन्छ कि भन्दै प्रश्न उठाएका छन्। साथै, नेताहरूको घरबाट पैसा भेटिएको र नोट जलेको विषयमा सरकारले तथ्य बाहिर ल्याउनुपर्ने माग समेत गरे।

साहले जेनजी आन्दोलनका सहिद परिवारको प्रतिनिधित्व हुनुपर्ने, लोकप्रियतावादको प्रभाव नेपालमा पनि बढेको, र देशमा शान्ति र सार्वभौमिकता जोगाउन सचेत रहन जरुरी रहेको बताए। उनले मुलुकलाई झन् ठूलो सङ्कटमा फसाउन सक्ने वर्तमान संविधान र व्यवस्थामा सुधार आवश्यक रहेको उल्लेख गरे।

अन्तरिम सरकार र सेनाको भूमिका तथा देशमा बढ्दो अनिश्चयको प्रभावको समीक्षा गर्दै, अध्यक्ष साहले नेता र कार्यकर्तालाई कुनै पनि समयमा जनसङ्घर्षका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

साहले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिँदै भने, “जनविद्रोहलाई कलङ्कित पार्ने काम नगर्नुहोस्। देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा आजको पहिलो कर्तव्य हो।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका