काठमाडौँ, ११ असोज – कम्तीमा १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमुखी उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनअनुसार न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कुल उत्पादनको कम्तीमा २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजतप्राप्त वित्तीय संस्थाले आधारदरमा बढीमा एक प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ।
यस्तै, ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब–भत्ता लगायतका सुविधा दिन आधारदरमा बढीमा ०.५० प्रतिशत प्रिमियम थप गरी कर्जा दिने प्रावधान गरिएको छ।
यस्तो कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन छोटो हुन्छ त्यही अवधिसम्मका लागि मात्र उपलब्ध हुनेछ। सो कर्जामा लाग्ने ब्याजदरमा छ महिनासम्म दुई प्रतिशत ब्याज सरकारले अनुदान स्वरूप व्यहोर्ने व्यवस्था छ। रोजगारदाता संस्थाले आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।
साथै, प्रदर्शनबाट प्रभावित व्यवसायिक प्रतिष्ठानका सवारी तथा ढुवानी साधन क्षति भई प्रतिस्थापन गर्न आवश्यक कर्जा प्रवाह गर्दा ऋण–मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने प्रावधान छ।
यसैगरी रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण देखिएका अवरोधबाट प्रभावित कर्जा ऋणीको अनुरोधमा पुस मसान्तभित्र पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरिएको छ। पुनर्तालिकीकरण गरिएका कर्जा गत असार मसान्तसम्म जुन वर्गमा थिए, सोही वर्गमै वर्गीकरण हुने पनि निर्देशनमा उल्लेख छ।


