काठमाडौं। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण हुने ११७ किमि विद्युत् प्रसारण लाइन निर्माणको सम्झौता गरेको छ।
यो सम्झौतासँगै ३१५ किमि लामो सम्पूर्ण प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ, जसलाई कम्प्याक्ट कार्यान्वयनमा ठूलो उपलब्धिका रूपमा लिइएको छ।
आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौंको लप्सिफेदी सबस्टेशनदेखि नुवाकोटको रातमाटे सबस्टेशन हुँदै मकवानपुरको नयाँ हेटौँडा सबस्टेशनसम्म ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ। करिब ७६६.५० लाख अमेरिकी डलर बराबरको ठेक्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट सम्झौता भएको हो। यस अन्तर्गत ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनसम्मका काम हुनेछन्।
सम्झौतामा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले हस्ताक्षर गरेका हुन्।
समारोहमा एमसिए–नेपालका निर्देशक विष्टले सबै खण्डको सम्झौता सम्पन्न हुनु कार्यान्वयनतर्फको ठोस उपलब्धि भएको बताए। एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले नेपाल कम्प्याक्टको प्रगति जनताका लागि दीर्घकालीन विकास र समृद्धितर्फको कदम भएको टिप्पणी गरे।
यसअघि नै रातमाटे–दमौली–बुटवल हुँदै भारत सीमासम्मको १९८ किमि प्रसारण लाइन र नयाँ सबस्टेशनहरूको निर्माणका लागि सम्झौता भइसकेको छ।
एमसीसी नेपाल कम्प्याक्टले प्रसारण लाइन र सडक मर्मत आयोजना मार्फत पूर्वाधार सुदृढीकरण, ऊर्जा व्यापार अभिवृद्धि र यातायात सञ्जाल सुधार गरी नेपालको दीर्घकालीन आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ।


