Sunday, November 8, 2026
Homeसामाचाररिक्त चार एआइजीमा बढुवा सिफारिस हुन सकेन

रिक्त चार एआइजीमा बढुवा सिफारिस हुन सकेन

काठमाडौं । नेपाल प्रहरीमा २२ दिनभन्दा बढी भइसके पनि चार एआईजी पदमा बढुवा सिफारिस हुन सकेको छैन। चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षकमा नियुक्त भएलगत्तै खाली रहेका यी पदमा अहिलेसम्म प्रक्रिया अघि बढ्न नसकेको हो।

१८ भदौमा दिपक थापाको ब्याचमेट अवकाशमा गएपछि एआईजी पद खाली भएको थियो। तर, खापुङले नेतृत्व लिएपश्चात् जेन-जी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथलका कारण बढुवा प्रक्रिया रोकिएको आशंका गरिएको छ।

एआईजी बढुवाका प्रमुख दाबेदारमा प्रबन्ध शाखामा कार्यरत डिआइजी सुशील सिंह राठौरलाई मानिएको छ। उनीसँगै उमाप्रसाद चतुर्वेदी, डम्बर विक र हिमालयकुमार श्रेष्ठ पनि प्रतिस्पर्धामा छन्। यी चारै जना २०८१ मंसिरमा डीआईजीमा बढुवा भएका हुन् र सबै राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थान्तरण भएका अधिकारी हुन्।

यसअघि उनीहरूसँगै भर्ना भएका सिद्धिविक्रम शाह पहिले नै एआईजी भइसकेका छन् र हाल कार्यविभाग प्रमुख छन्। तर, बढुवामा प्रहरीमै करिअर सुरु गरेका अधिकारीहरूले अवरोध गरिरहेको बताइएको छ।

हाल चतुर्वेदी मधेस प्रदेश प्रहरी प्रमुख, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख र राठौर प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखामा कार्यरत छन्।

उता, कोसी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की लगायत पाँच डीआईजीहरूले पनि बढुवामा प्रतिस्पर्धा गर्न खोजिरहेको स्रोतले दाबी गरेको छ। उनीहरू २०८१ पुसमा डीआईजीमा बढुवा भएका हुन्। कार्कीसँगै राजेन्द्रप्रसाद भट्ट (लुम्बिनी), दिनेशकुमार आचार्य (गण्डकी), अरुण पौडेल (बागमती) र गोविन्द थपलिया (सीआईबी) रहेका छन्।

यही ब्याचका तीन जना—दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी—पहिले नै एआईजी भइसकेका छन्। तीमध्ये एक जना आउँदो कात्तिक २७ पछि प्रहरी संगठनको नेतृत्वमा पुग्ने पक्का छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका