Sunday, November 8, 2026
Homeसामाचारदशैं–तिहार नजिकिँदै गर्दा बाजुरामा चहलपहल बढ्यो

दशैं–तिहार नजिकिँदै गर्दा बाजुरामा चहलपहल बढ्यो

बाजुरा । नेपालीहरूको महान चाड विजयादशमी तथा शुभदिपावली नजिकिँदै गर्दा बाजुरामा चहलपहल बढेको छ। जिल्लाका नौ वटै स्थानीय तहका ग्रामीण बस्तीदेखि सदरमुकाम मार्तडीलगायतका बजारमा उपभोक्ताको भीडभाड देखिएको छ।

दशैं–तिहारमा नयाँ कपडा, सुनचाँदी र अन्य सामाग्री किन्ने ग्राहकको घुइँचो लाग्ने गरेको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र मार्तडीमा मात्रै नभई बाम्का, डाब, बेतालमाण्डौ, घट्मुना, कोल्टी, पिलिचौर, धुलाचौरलगायतका बजारमा पनि चहलपहल बढेको हो।

चाडपर्व नजिकिँदै जाँदा रोजगार, अध्ययन र अन्य कामका लागि बाहिरिएका नागरिक गाउँ फर्किन थालेपछि गाउँ–बस्ती र बजार दुबैमा चहलपहल देखिएको हो। हाल दैनिक पाँच सयभन्दा बढी नागरिक जिल्लामा भित्रिने गरेको अनुमान गरिएको छ।

व्यवसायीहरू पनि यसबेलामा व्यापारप्रति उत्साहित देखिन्छन्। मार्तडीका कपडा व्यवसायी जयराज उपाध्यायका अनुसार गत वर्षको तुलनामा यो वर्ष करिब १० प्रतिशत बढी कारोबार भएको छ। उनका अनुसार, उपभोक्ताले मन परेको वस्तुको मूल्य केही महँगो भए पनि चाडबाडकै लागि खरिद गर्ने गरेका छन्।

तर, सामाग्रीको मूल्य वृद्धि व्यापारमा केही असहजता थपिएको व्यवसायीहरूको गुनासो छ। यद्यपि, दशैं–तिहार नजिकिँदै गर्दा अझै व्यापार बढ्ने अपेक्षा उनीहरूले गरेका छन्।

चाडपर्व सकिएपछि भने व्यापारिक केन्द्रहरू सुनसान बन्ने अनुमान गरिएको छ, किनभने व्यापारीहरू पनि चाडबाड मनाउन आफ्ना गाउँघर फर्किने गर्छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका