काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान शासित अफगानिस्तानले बग्राम एयर बेस अमेरिकालाई फिर्ता नगरे परिणाम गम्भीर हुने चेतावनी दिएका छन्।
शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसियल मा पोस्ट गर्दै ट्रम्पले भने, “यदि अफगानिस्तानले बग्राम एयर बेस फिर्ता गरेन भने नराम्रा कुराहरू हुनेछन्।”
२००१ सेप्टेम्बर ११ मा अल–कायदाले अमेरिकामा गरेको आतंककारी हमलापछि अमेरिकाले अफगानिस्तान आक्रमण गर्दै सो एयर बेस निर्माण गरेको थियो। तर २०२१ मा अमेरिकी सेना फिर्ता भएपछि बेस तालिबानको नियन्त्रणमा पुगेको हो।
ट्रम्पले यसअघि पनि बग्राम एयर बेस फिर्ता लिने अडान सार्वजनिक गरिसकेका छन्। तर अफगानिस्तान सरकारले अमेरिकी सेनाको पुनः उपस्थिति अस्वीकार गर्ने चेतावनी दिँदै आएको छ।
विश्लेषकहरूले बग्राम एयर बेस पुनः कब्जा गर्न १० हजारभन्दा बढी सेना र शक्तिशाली एयर डिफेन्स सिस्टम आवश्यक पर्ने बताउँदै यस्तो कदमले नयाँ आक्रमणको आभास दिने चेतावनी दिएका छन्।
शनिबार पत्रकारहरूले अमेरिकी सेना पठाउनेबारे सोध्दा ट्रम्पले स्पष्ट नकार नगरी भने, “हामी अहिले यसबारे कुरा गर्ने छैनौं। तर हामी तुरुन्तै फिर्ता चाहन्छौं। यदि अफगानिस्तानले यसो गरेन भने तपाईंहरू देख्नुहुनेछ कि म के गर्छु।”
दुई दशकसम्म अमेरिकाको मुख्य सैन्य केन्द्र रहेको बग्राम एयर बेसमा फास्ट–फूड चेनदेखि ठूलो जेलसम्म रहेका थिए। चीन नजिकै रहेको यसको सामरिक महत्वका कारण ट्रम्प यसलाई फिर्ता गर्न कुटनीतिक दबाब बढाइरहेको विश्लेषण गरिएको छ।
तर अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट र अल–कायदा समूह तथा इरानतर्फबाट सम्भावित खतरा रहने सुरक्षा विज्ञहरूको भनाइ छ।


