Sunday, November 8, 2026
Homeसामाचारसमयमा आयोजना पूरा नगर्नेसँग सम्झौता तोड्ने मन्त्री घिसिङको चेतावनी

समयमा आयोजना पूरा नगर्नेसँग सम्झौता तोड्ने मन्त्री घिसिङको चेतावनी

काठमाडौं। ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायम गर्न कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारेका छन्।

आइतबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वसँग भएको छलफलमा मन्त्री घिसिङले मुलुकमा भएको ठूलो आन्दोलन परिवर्तनको लागि भएकाले अब सुशासनमा सम्झौता सम्भव नभएको बताए। उनले मुलुकमा देखिएको निराशा हटाउन सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिए।

मन्त्री घिसिङले सबै मन्त्रालय र सचिवालयलाई कुनै पनि विषयमा तलमाथि नगरी सरकारको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको उल्लेख गरे। उनले जिम्मा लिएर तोकिएको समयमा आयोजना सम्पन्न नगर्नेहरूसँग सरकार सम्झौता तोड्ने चेतावनी पनि दिए।

छलफलपछि महासंघका अध्यक्ष रवि सिंहले जेनजी पुस्ताको आन्दोलनपछि निर्माण क्षेत्रको अवस्थाबारे छलफल भएको जानकारी दिए। उनले रुग्ण योजनाहरू खारेज गर्दा त्यसबाट पर्ने प्रभाव पहिचान गर्नुपर्ने सुझाव राखेको बताए।

त्यस्तै, उपभोक्ता समितिमा व्यापक रूपमा भ्रष्टाचार हुने भएकाले त्यसलाई खारेज गर्नुपर्ने सुझाव समेत महासंघले दिएको सिंहको भनाइ छ। उनले निर्माण उद्योगसहित मुलुकको अर्थतन्त्र चलायमान बनाउन अवरोधहरू हटाउनेतर्फ वर्तमान सरकार प्रतिबद्ध हुने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका