काठमाडौं। जेनजी आन्दोलनका क्रममा देशभरबाट कति हतियार नष्ट भए वा हराए भन्ने स्पष्ट विवरण अझै सार्वजनिक भएको छैन। नेपाल प्रहरीले पूर्ण विवरण नदिए पनि हालसम्म करिब ३ हजार हतियार फेला नपरेको पुष्टि भएको छ।
प्रहरी स्रोतका अनुसार २ हजार ९६४ हतियार हराइरहेका छन्। तीमध्ये केही लुटपाटमा परे पनि अधिकांश आगलागीका कारण नष्ट भएको दाबी गरिएको छ। साथै, करिब १ लाख ७० हजार गोली पनि आगजनीमा परेका छन्।
हराएका र नष्ट भएका हतियारमा राइफल एसएलआर, इन्सास राइफल, हर्नेट राइफल, मार्कफोर राइफल म्याग्नम, सर्टगन र ग्यासगनसमेत छन्। तर भक्तपुरको ठिमी र काठमाडौंको कालिमटी बृत्तका प्रहरीले हतियार सुरक्षित राख्न सफल भएका थिए।
प्रहरीले लुटिएका हतियार र गोली फिर्ता गर्न सूचना जारी गरेको भए पनि अहिलेसम्म कुनै हतियार फिर्ता भएको छैन। यसका लागि डिआइजी दीपक रेग्मीको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ, जसले देशभरि आगजनी र तोडफोडबाट हराएका हतियार, गोली तथा बर्दीको विवरण संकलन सुरु गरिसकेको छ।
उपत्यकामा मात्रै आन्दोलनका क्रममा १२२ प्रहरी कार्यालय भवन पूर्ण रूपमा र ९६ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, ११७ चारपांग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् भने ४ मा आंशिक क्षति पुगेको छ। दुईपांग्रे सवारीसाधनमा १५८ वटा क्षति पुगेको जनाइएको छ। काठमाडौं बाहिरको विवरण अझै संकलन भइरहेको प्रहरीले जनाएको छ।


