काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दशैं अवधिमा काठमाडौं बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था विभाग, सुरक्षा निकाय र यातायात व्यवसायीलगायत सरोकारवाला निकायसँगको बैठकमा दशैं अवधिमा उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायातलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत मात्र बाहिर पठाउने र दशैंपछि पुनः सोही मार्गमार्फत प्रवेश गर्ने व्यवस्था मिलाउने निर्णय भएको हो।
मन्त्री घिसिङले सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा रहेकाले चाडलाई मध्यनजर गर्दै यसलाई प्रयोगमा ल्याउने निर्णय गरिएको बताए।
त्यस्तै, दशैं अवधिमा बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइने निर्णय भएको छ। साथै देशभरका मुख्य सडक स्तरोन्नति तथा सुधार गर्ने, पहिरोजस्ता विपदका लागि आवश्यक सामग्री र उपकरण उपलब्ध गराउने तयारी पनि गरिने भएको छ।
उनका अनुसार बुटवल–नारायणघाट सडकखण्डमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणघाट–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा अवरोध तत्काल हटाई सञ्चालनमा ल्याउने र तातोपानी नाकासम्मको मुख्य सडक दशैंअघि सञ्चालनमा ल्याउने गरी सडक विभागलाई निर्देशन दिइएको छ।
बैठकले देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, आवश्यक समन्वय र व्यवस्थापनका लागि फोकल पर्सनसहित कन्ट्रोल रुम सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ।
यसबाहेक नयाँ बसपार्कसहित मुलुकका विभिन्न राजमार्गमा सुरक्षा कडा बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ। बैठकले सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका छिट्टै मन्त्रालयमा पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय समेत गरेको छ।


