Sunday, July 19, 2026
Homeअर्थ र ब्यापारजेनजी आन्दोलन : भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड बराबरको...

जेनजी आन्दोलन : भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड बराबरको बीमा दावी

काठमाडौँ, ४ असोजः गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिबाट भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म करिब रु २० अर्ब ७० करोड बराबरको बीमा दाबी दर्ता भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १८ वटा निर्जीवन बीमा कम्पनीमा एक हजार ९८४ वटा दाबी परेका छन् । दाबी रकमको हिसाबले सबैभन्दा बढी दाबी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेका छन्, जसमा ४० वटा दाबीमार्फत रु पाँच अर्ब १४ करोडभन्दा बढी रकम माग गरिएको छ ।

त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८ वटा दाबी रु चार अर्ब ९३ करोड बराबर, शिखर इन्स्योरेन्समा ३६६ वटा दाबी रु दुई अर्ब ३९ करोड बराबर, र आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी रु एक अर्ब ५९ करोडभन्दा बढी रकममा दर्ता भएका छन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी रु एक अर्ब ४७ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी रु एक अर्ब १५ करोड, र नेको इन्स्योरेन्समा ४० वटा दाबी रु एक अर्ब नौ करोडभन्दा बढी रकमको दाबी भएको छ ।

सानिमा जिआईसीमा १२९ वटा दाबी रु ७८ करोड, राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबी रु ४९ करोड, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा १७० वटा दाबी रु ४८ करोड, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ वटा दाबी रु ४६ करोड बराबर परेका छन् ।

यस्तै, एनएलजी इन्स्योरेन्समा १५१ वटा दाबी रु ३८ करोड, प्रभु इन्स्योरेन्समा ६९ वटा दाबी रु १९ करोड, नेशनल इन्स्योरेन्समा १९ वटा दाबी रु छ करोड ८२ लाख बराबर दर्ता भएका छन् । साना बीमा कम्पनीमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा रु एक करोड १३ लाख, स्टार माइक्रोमा छ वटा रु ६७ लाख, नेपाल माइक्रोमा १५ वटा रु ५६ लाख, र ट्रस्ट माइक्रोमा आठ वटा रु ४२ लाख बराबरको दाबी परेको छ ।

नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएका क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेको छ । बीमित सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित प्रक्रिया अघि बढाउन बीमितलाई आग्रह गर्दै सङ्घले जारी गरेको विज्ञप्तिमा बीमाको महत्व अझ बढेको उल्लेख गरिएको छ ।

सङ्घले बीमित सम्पत्तिको क्षतिको तत्काल मूल्याङ्कन गरी दाबी भुक्तानी प्रक्रिया छिट्टै निष्कर्षमा पु¥याइने स्पष्ट पारेको छ । साथै, आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बीमा कम्पनीहरूलाई दाबी भुक्तानीलाई प्राथमिकतामा राख्न आह्वान गरेको छ ।

सङ्घका अध्यक्ष राजेन्द्र मल्लले बीमितलाई आवश्यक कागजातसहित दाबी विवरण छिटो बुझाउन आग्रह गर्दै बीमा कम्पनीहरूले पनि क्षतिपूर्ति टुङ्ग्याउने कार्यलाई तीव्र गति दिएको जानकारी दिनुभयो । उहाँले २०७२ को भूकम्प र कोभिड–१९ महामारीपछिका अनुभवले बीमाको आवश्यकता अझ गहिरो रूपमा देखिएको उल्लेख गर्दै हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक भएको बताउनुभयो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका