वीरगञ्ज (पर्सा), ३० भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले ‘जेनजी’ आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड तथा क्षतिको पारदर्शी मुचुल्का तयार पार्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले आइतबार कार्यालय प्रमुखहरूसँगको छलफलमा आन्दोलनका कारण भएको क्षतिको श्रव्यदृश्यसहितको अभिलेख र लिखित मुचुल्का तयार पार्न निर्देशन दिएका हुन् ।
“जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति पुगेका छन्,” उनले बताए, “क्षतिको विवरण तयार गर्दा पारदर्शी र यथार्थपरक बनाउन निर्देश गर्दछु ।”
प्रजिअ सुवेदीले सरकारी निकायलाई सम्पूर्ण कानुनी प्रक्रिया पालना गर्दै निष्पक्ष रूपमा कार्यसम्पादन गर्न आह्वान गरे । “तपाईँहरू कुनै पनि प्रकारका आर्थिक अनियमिततामा संलग्न नभई वस्तुपरक भई कार्यसम्पादन गर्नुहोस् । सेवाग्राहीलाई दुःख दिने वा सास्ती दिने काम नगर्नुहोस् । कानुनी प्रक्रिया पुगेको कामलाई अनावश्यक बाहनामा ढिलाइ नगर्नुहोस्,” उनले भने ।
साथै, उनले सबै सरकारी कार्यालयलाई आफ्ना भवन र सवारीसाधनको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।


