गण्डकी, २९ भदौ । जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका कारण प्रभावित कास्कीको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सरकारी निकायहरूले आंशिक रूपमा सेवा प्रवाह सुरु गर्ने तयारी गरेका छन्।
फोहर व्यवस्थापनसहित सार्वजनिक सेवा सञ्चालनका लागि आवश्यक तयारी थालिएको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। उनका अनुसार, अत्यावश्यक सेवा दिन सक्ने कार्यालयहरूले सेवा प्रारम्भ गरिसकेका छन्। यसै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक पनि बोलाइएको छ।
आन्दोलनका क्रममा गण्डकी प्रदेश राजधानी पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत करिब ८० सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो।
सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै लगाइएको निषेधाज्ञा र कफ्र्यू शनिबारदेखि हटेपछि पोखरामा व्यापार, व्यवसाय र सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन्। आन्दोलनका कारण बन्द शैक्षिक संस्थाहरू पनि असोज १ गतेदेखि सञ्चालनमा ल्याउने पोखरा महानगरपालिकाले निर्णय गरेको छ। महानगर शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यका अनुसार शनिबार बसेको नगर कार्यपालिकाको बैठकले सम्पूर्ण विद्यालय खोल्ने निर्णय गरेको हो।


