Sunday, November 8, 2026
Homeसामाचारवैवाहिक जीवन सुरु गरेको दुई महिनामै जेन्जी आन्दोलनमा असहावको मृत्यु

वैवाहिक जीवन सुरु गरेको दुई महिनामै जेन्जी आन्दोलनमा असहावको मृत्यु

वीरगञ्ज (पर्सा), २८ भदौ – वीरगञ्ज महानगर–१२ का २२ वर्षीय असहाव आलम ठकुराई जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका छन्।

दुई महिनाअघि मात्र भारतको विहारस्थित बेल्दर्वाकी रोक्सिता खातुनसँग विवाह गरेका असहावले काठमाडौँमा पठाओ चालकको रूपमा काम गर्दै आएका थिए। गत मङ्गलबार यात्रु लैजाने क्रममा गोङ्गबुमा गोली लागी मृत्यु भएपछि परिवार र छिमेकी स्तब्ध बनेका छन्।

मृतककी आमा नजला खातुन र पत्नी रोक्सिता खातुन गहिरो शोकमा डुबेका छन्। आमा नजलाले आँसु झार्दै भन्नुभयो, “मेरो छोरा श्रवणकुमार जस्तै थियो, आमाबुबालाई असाध्यै माया गर्थ्यो। दुई महिनाअघि मात्र विवाह गरेर ल्याएकी बुहारीको सिउँदो आज उजाडियो।”

असहाव पाँच सन्तानमध्ये तेस्रो थिए। उनले ग्लोबल बिजनेस कलेज, वीरगञ्जबाट कक्षा १२ पास गरेका थिए र थप अध्ययन तथा रोजगारीका लागि काठमाडौँमा बस्दै आएका थिए।

छिमेकी मनोज गुप्ताका अनुसार मंगलबार बिहान १० बजेपछि सम्पर्कविहीन बनेका असहावको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको हो। उनका अनुसार असहावको छाती र पेटमा दुई गोली लागेको थियो।

काका असराल आलम ठकुराईले भतिजाको मृत्युले परिवारलाई निकै मर्माहत बनाएको उल्लेख गर्दै भन्नुभयो, “असहावजस्तै साहसी युवाको बलीदानले नयाँ क्रान्तिको सुरुआत होस्।”

पूर्ववडाध्यक्ष तुफान अन्सारीले पनि असहाव असल र मिजासिला युवा भएको स्मरण गर्दै भने, “उनको निधनले अपुरणीय क्षति भएको छ। आज सिंगो मुर्ली शोकमा डुबेको छ।”

शुक्रबार साँझ वीरगञ्जको प्रतिमाचोकमा स्थानीय बासिन्दाले मैनबत्ती बालेर असहावलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका