दोधारा चाँदनी (कञ्चनपुर), २६ भदौः भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपालीलाई भारत प्रवेशमा रोक लगाइएको छ। नेपालमा ‘जेनजी’ आन्दोलन सुरु भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुदूरपश्चिमका नाकामा कडाइ गर्दै यस्तो प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो।
उनका अनुसार हाल भारतबाट फर्किने नेपाली नागरिकका लागि नेपाली परिचयपत्र अनिवार्य गरिएको छ भने भारततर्फ जाने व्यक्तिका लागि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ। तर, नेपाली नागरिकलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ।
यसैबीच, बुधबार भारतीय एसएसबीले कारागारबाट भागेर भारत प्रवेश गर्ने प्रयासमा रहेका चार जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ।


