Thursday, April 30, 2026
Homeसुन्दर नेपालहुम्ला हुँदै मानसरोवर–कैलाश जाने तीर्थयात्रीको चाप बढ्यो

हुम्ला हुँदै मानसरोवर–कैलाश जाने तीर्थयात्रीको चाप बढ्यो

सिमकोट (हुम्ला), २५ भदौ – हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीहरूको संख्या बढेको छ। नेपाल–चीन सीमा नाकामध्ये हिल्सा नाका गत वैशाख १८ गते सञ्चालनमा आएपछि यहाँ विदेशी पर्यटकको चाप उल्लेख्य रूपमा बढ्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार जेठदेखि भदौसम्म नेपालगञ्ज हुँदै हुम्ला पार गरेर मानसरोवर–कैलाश दर्शन गर्न आएका तीर्थयात्रीको संख्या ५,८४२ पुगेको छ। तीमध्ये ५,५१७ जना भारतीय र ३२५ जना अन्य देशका तीर्थयात्री रहेका छन्।

उहाँले नाका सञ्चालनमा आएपछि आउने तीर्थयात्रीको संख्या अझ बढ्ने अपेक्षा गरिएको जानकारी दिनुभयो। हुम्लाको बाटो छोटो र सहज भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप उल्लेख्य रूपमा देखिएको छ।

सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीका अनुसार, “कोरोना महामारीपछि पहिलो पटक यति ठूलो संख्यामा भारतीय पर्यटक आएका छन्। मानसरोवर–कैलाश दर्शनका लागि आउने क्रम दिनानुदिन बढिरहेको छ।”

मौसम अनुकूल भए दैनिक पाँचदेखि दसवटासम्म नेपालगञ्जबाट उडान हुने गरेको छ, जसमा सीता, समिट र तारा एयरका विमानहरू सञ्चालनमा छन्। सिमकोटदेखि हिल्सासम्म विभिन्न हेलिकप्टरहरूले पनि पर्यटकलाई सेवा दिइरहेका छन्। कतिपय पर्यटक गाडीमार्फत समेत हिल्सा हुँदै मानसरोवर पुग्ने गरेका छन्।

हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार जेठदेखि नै सदरमुकाम सिमकोटसहित हिल्साका होटलहरू पर्यटकले भरिभराउ भएका छन्। यससँगै सिमकोट र नाम्खा गाउँपालिकाले विदेशी पर्यटकबाट शुल्क असुल्न थालेका छन्। हाल भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु १,१०० र अन्य देशका पर्यटकलाई प्रतिव्यक्ति रु १,५०० तोकिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका