Sunday, November 8, 2026
Homeसामाचारभक्तपुरमा पहिलो पटक नगरपरिक्रमा गर्दै सम्पन्न जिब्रो छेड्ने जात्रा

भक्तपुरमा पहिलो पटक नगरपरिक्रमा गर्दै सम्पन्न जिब्रो छेड्ने जात्रा

भादगाउँ, २३ भदौ- मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) इतिहासमै पहिलो पटक भक्तपुर नगर परिक्रमा गर्दै सम्पन्न भएको छ।

यसवर्ष साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर दत्तात्रय र नवदुर्गाको दर्शन गर्दै नगरपरिक्रमा गरेका हुन्। मध्यपुरथिमिमा यो जात्रा इन्द्रजात्राको भोलिपल्ट मनाइने परम्परा छ भने अर्को जिब्रो छेड्ने जात्रा बिस्काः जात्रामा बोदेमा वैशाख २ गते हुने गर्छ।

थिमिको जात्रामा जिब्रो छेड्ने संख्यामा कुनै सीमा नरहेको र परिक्रमा मार्ग पनि निश्चित नभएको विशेषता छ। गतवर्ष वीरेन्द्रभक्तले पशुपतिनाथ दर्शन गरेका थिए भने यसवर्ष भक्तपुर नगर परिक्रमा गरेका हुन्।

साँझ ८:४० बजे कमिनायो बाबुकाजी कमी श्रेष्ठले एक फिट लामो तीन मुख भएको सुइरोले वीरेन्द्रभक्तको जिब्रो छेडिदिएका थिए। त्यसपछि उनले ४० किलोभन्दा बढी वजनको अर्धचन्द्राकार महादीप ‘भ्ये’ काँधमा बोकेर हजारौँ श्रद्धालुसहित भक्तपुर नगर परिक्रमा गरेका थिए। परिक्रमा दिगु भैरव, बालकुमारी, दक्षिण बाराही, सिद्धपोखरी हुँदै दरबार स्क्वायर, दत्तात्रय, नवदुर्गा, पाँचतल्ले, भैरवनाथलगायत स्थानमा सम्पन्न भएको थियो।

बालकुमारीमा पमानायोले जिब्रोबाट सुइरो निकालेर जात्रा सम्पन्न भएको घोषणा गरे। यो वीरेन्द्रभक्तको चौथो जिब्रो छेड्ने अनुभव हो।

सरकार र जनप्रतिनिधिको समर्थन
जात्रा प्रत्यक्ष अवलोकन गर्न पुगेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले यो साहसी र मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। बागमती प्रदेशका पर्यटन मन्त्री सुरेश श्रेष्ठले हरेक वर्ष दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए।

मध्यपुरथिमि नगरपालिकाले जात्रालाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नगरप्रमुख सुरेन्द्र श्रेष्ठले यो साहसी कार्यले थिमिको संस्कृति मात्र होइन, सम्पूर्ण क्षेत्रलाई विश्वमा चिनाउन मद्दत गर्ने बताए।

पौराणिक विश्वास
जनश्रुति अनुसार थिमिका स्थानीयलाई भूतप्रेतले दुःख दिइरहेको बेला बालकुमारी देवीको साधनापछि एक व्यक्तिले जिब्रो छेडेर नगरपरिक्रमा गर्दा भूतप्रेत भागेको विश्वास छ। त्यसयता यो जात्रा रोग, अनिकाल, अतिवृष्टि, अनावृष्टिबाट मुक्ति दिलाउने धार्मिक आस्थासँग जोडिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका