काठमाडौँ, २२ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित छ । सिक्किम आसपास बनेको निम्नचापीय क्षेत्रको प्रभाव नेपालका पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । यस अवधिमा पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ ।
आज राति पनि कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा र कोशी प्रदेशका तराई भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने, साना–ठूला नदी–नालामा पानीको सतह वृद्धि हुने र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।


