धरान (सुनसरी)। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्की एक जना घाइते भएकी छन् ।
काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल दुधपानी खोला तर्दै गर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
बेपत्ता हुनेमा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेका छन् । मोटरसाइकलमा सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी घाइते भएकी छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घटनापछि स्थानीयवासी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय चतरा तथा अस्थायी प्रहरी चौकी चतरा पुलका टोलीले मनिषको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।


