ढोरपाटन (बागलुङ) – बसाइँसराइ र विदेश पलायनको कारण बागलुङका धेरै गाउँ सुनसान बन्दै गएका छन्। यसले केवल गाउँको जनजीवन मात्र नभई खेतीयोग्य जमिनसमेत बाँझो बन्दै गएको छ।
पहिले धान, गहुँ र मकै उत्पादन हुने खेतबारी अहिले झाडीले ढाकिएका छन्। कतै सिउँडी पलाएका छन् भने कतै वनमाराले जमिन ओगटेका छन्। घरहरूमा ताल्चा ठोकिएका छन् र कतिपय घर ढल्किँदै रुग्ण बन्दै गएका छन्।
विशेषगरी काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा बसाइँसराइ गरेर सहर झर्नेको सङ्ख्या बढेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।
खेतीयोग्य जमिन घट्दै
जिल्लामा कूल एक लाख ७८ हजार ४०६ हेक्टर जमिनमध्ये ४६ हजार १४८ हेक्टर खेतीयोग्य छ। तर अहिले ३० हजार ५०३ हेक्टरमा मात्र खेती भइरहेको सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए।
उनका अनुसार खेतीयोग्य जमिनमध्ये १५ हजार ६४५ हेक्टर बाँझो छ भने एक हजार २० हेक्टर अन्य प्रयोजनमा प्रयोग भइरहेको छ। “गाउँबाट बजार झर्ने र विदेश जाने क्रम रोकिएन भने बाँझो जमिन अझै बढ्ने सम्भावना छ,” अधिकारीले चेतावनी दिए।
स्थानीयको पीडा
जैमिनी–४ की देवी शर्माले काम गर्ने जनशक्ति नहुँदा आफ्नो करिब ८० प्रतिशत खेतमा झाडी पलाएको बताइन्। पहिले २० मुरी धान र २२ मुरी मकै उत्पादन गर्ने खेत अहिले पाँच–सात मुरी धान उत्पादन गर्नसमेत मुस्किल भएको उनको गुनासो छ।
काठेखोला–८ का मेघराज कँडेलले पनि पछिल्लो १० वर्षमा गाउँको आधा बढी जमिन बाँझो बनेको बताए। “पहिले धान बेचेरै वर्षभरि खान पुग्थ्यो, अहिले खेत भएर पनि उत्पादन गर्न सकिन्न,” उनले भने।
सिँचाइ सुविधा न्यून
जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये २५.८७ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले जनाएको छ। यसमध्ये दुई हजार ८४१ हेक्टर जमिनमा मात्रै वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ।


