म्याग्दी (बेनी), १७ भदौ । बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवाको अवस्था अझै अज्ञात छ । रघुगङ्गा गाउँपालिका–२ का कुमार रिजाल र बेनी नगरपालिका–६ का हरिप्रसाद शर्मा (रिजाल) सम्पर्कविहीन भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत कुमार र बेनीको एक व्यावसायिक फार्ममा काम गर्ने हरि बेनीको बैंक रोडस्थित एक होटलमा खाना खाएपछि मोटरसाइकलमा निस्किएका थिए । तर, उनीहरू कोठामा नफर्किएको र मोबाइल फोन पनि बन्द भएपछि आफन्तले प्रहरीमा निवेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार सिसी क्यामेरामा उनीहरू चढेको मोटरसाइकल कालीगण्डकी नदी किनारको बाटोतर्फ गएको देखिएको छ । तर, उक्त मोटरसाइकल कालीपुलमा पुगेको नदेखिएपछि दुर्घटनामा परेर नदीमा खसेको हुनसक्ने अनुमान गरिएको छ ।
सम्भावित दुर्घटनास्थलमा राति प्रत्यक्षदर्शी नभएको र सिसी क्यामेरा नभएकाले खोजी कठिन भएको प्रहरीले जनाएको छ । सोमबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तको टोलीले नदी किनारमा खोजी गरे पनि युवाद्वय र मोटरसाइकल फेला परेका छैनन् ।


