Sunday, November 8, 2026
Homeसामाचारकृषिवस्तु निर्यातका लागि सहजीकरण गरिदिन चीनसँग कृषिमन्त्रीको आग्रह

कृषिवस्तु निर्यातका लागि सहजीकरण गरिदिन चीनसँग कृषिमन्त्रीको आग्रह

काठमाडौँ, १४ भदौ – नेपालले भैंसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रक्रियामा सहजीकरण र लचकता अपनाउन आग्रह गरेको छ।

काठमाडौँमा बसेको द्विपक्षीय बैठकमा नेपालको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नुभयो भने चिनियाँ पक्षको नेतृत्व चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनले गर्नुभयो।

नेपालले थर्मलरूपमा प्रशोधित भैंसीको मासु र कार्टिलेजसहित दुग्ध पदार्थ (घ्यू, नौनी, बटर, छुर्पी), पशु आहार (हेलेज, साइलेज), कुखुराको मासु तथा पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया, कफी र जडीबुटी निर्यातका लागि आग्रह गरेको थियो। हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तु ६१ कम्पनीमार्फत तथा हरियो घाँस हेलेज पाँच कम्पनीमार्फत चीन निर्यात हुँदै आएको छ।

बैठकमा उपमन्त्री वाङले चीनले नेपालबाट कृषि निर्यातलाई उच्च महत्व दिने बताउँदै, छिमेकी मुलुकको नाताले सहजीकरणका प्रयासलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो। “व्यापार सहजीकरण दुवै पक्षको संयुक्त प्रयासले मात्र सम्भव हुन्छ, यसका लागि हामी तयार छौँ,” उहाँले भन्नुभयो।

मन्त्री अधिकारीले मासु निर्यातका लागि खोरेत–मुक्त क्षेत्र घोषणा र चीनका क्वारेन्टाइन मापदण्ड पूरा गर्न नेपाल प्रयासरत रहेको उल्लेख गर्नुभयो। साथै सुन्तलाजन्य फलफूल निर्यातका केही सर्तमा लचकता अपनाउन आग्रह गर्नुभयो।

बैठकमा नेपालको प्रस्तावअनुसार कृषि उपज निर्यात सहजीकरणका लागि संयुक्त संरचना स्थापना गर्नेमा दुबै पक्ष सहमत भएका छन्। कार्यक्रममा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, डा. दीपककुमार खराल र सहसचिव सहभागी हुनुहुन्थ्यो भने चीनतर्फका अधिकारीहरू पनि उपस्थित थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका