काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा आयोजित शाङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन उहाँ शनिबार प्रस्थान गर्न लाग्नुभएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको नेतृत्वमा प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं सांसद पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र उच्चपदस्थ सरकारी अधिकारीसहित २३ सदस्यीय प्रतिनिधिमण्डल रहनेछ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसैगरी उपराष्ट्रपति हान चङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विभिन्न छ देशका सरकार प्रमुखहरूसँग पनि छुट्टाछुट्टै वार्ता तय भएको छ।


