काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको साङ्घाइ सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन तयारी पूरा गरेको छ। राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गते (अगष्ट ३०–सेप्टेम्बर ३०) चीनको तियानमिनमा हुने सम्मेलनमा भाग लिन शनिबार प्रस्थान गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य सहभागी राष्ट्रका प्रमुखसँग द्विपक्षीय भेटवार्ता तय गरिएको छ। सम्मेलनमा उनीले विश्वका अन्य नेतासँग पनि छलफल गर्नेछन्।
भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित २३ सदस्यीय टोलीमा प्रथम महिला राधिका शाक्य, मन्त्रीहरू र सांसदहरू समेत रहनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओली शिखर सम्मेलनको सम्बोधन र जापानी आक्रमण विरुद्धको प्रतिरोध तथा विश्व फासिवाद विरोधी युद्धको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनेछन्।
एससिओ विश्वकै ठूलो क्षेत्रीय सुरक्षा–आर्थिक संगठनमध्ये एक हो। यसले सुरुवातीमा सीमा सुरक्षा, आतंकवाद विरोध र सैन्य विश्वास निर्माणमा जोड दिएको थियो भने पछिल्ला वर्षमा आर्थिक, ऊर्जा, पारवहन, वातावरणीय र सांस्कृतिक सहकार्यमा पनि कार्यक्षेत्र विस्तार गरेको छ। हाल चीन, रुस, भारत, पाकिस्तान, मध्य एशियाका देशहरू लगायत १० पूर्ण सदस्य छन् भने नेपाल पर्यवेक्षक सदस्य भएर उच्चस्तरीय बैठक र परियोजनामा सक्रिय भूमिका खेल्दै आएको छ।
गत वर्ष काजकिस्तानमा सम्पन्न शिखर सम्मेलनले ऊर्जा सुरक्षा, पारवहन मार्ग विस्तार, हरित विकास र डिजिटल सहकार्यलाई प्राथमिकता दिएको थियो। नेपालले भूपरिवेष्ठित अवस्थाका चुनौती, जलवायु परिवर्तन, पर्वतीय क्षेत्रको दिगोपन र ऊर्जा पहुँचमा सहयोगको आवश्यकता जोड दिएको थियो।
— प्रकाश सिलवाल/रासस


