पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरका सबै क्षेत्रलाई सडकसञ्जालले जोड्ने अभियान अघि बढिरहेको बताएका छन्।
आइतबार लामाचौर तीज महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख आचार्यले पोखराका सबै नाका जोडिने गरी सडक विस्तार भइरहेको जानकारी दिए। उनले भने, “नेपाल सरकारबाट प्राप्त हुने समपुरक बजेटमा तीन वर्षदेखि हामीले एउटै मात्र कार्यक्रम प्रस्ताव गरेका छौं—माछापुच्छ्रे पुग्ने सडक निर्माण। आगामी वर्षमा सो सडक पूर्ण हुनेछ। यसले पोखराको उत्तरी क्षेत्रलाई समेट्नेछ भने पूर्वतर्फ रुपादेखि देउरालीसम्मको बाटो पक्का भइसकेको छ। दक्षिणतर्फ कुरिनटार हुँदै विरौटासम्म सडक बनेको छ।”
उनले पश्चिमतर्फको राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरउन्नतिको काम समेत भइरहेको उल्लेख गरे।
यसैबीच, आइतबारदेखि सुरु भएको लामाचौर तीज महोत्सव १० गतेसम्म चल्नेछ। नव आदर्श सामुदायिक विकास समाजद्वारा आयोजित महोत्सवमा युवाहरूका लागि भलिवल प्रतियोगिता, बालबालिकाका लागि विभिन्न खेलकुद, साथै लोकदोहोरी र नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको समाजले जनाएको छ।


