Sunday, November 8, 2026
Homeसामाचारसमृद्ध नेपालका लागि नीति र नेतृत्वमा व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

समृद्ध नेपालका लागि नीति र नेतृत्वमा व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

स्पेन । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल निर्माणका लागि नीति र नेतृत्वमा ठूला परिवर्तन अपरिहार्य भएको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काको संयुक्त आयोजनामा स्पेनमा भएको भेटघाट तथा अन्तरक्रियामा बोल्दै उनले मुलुकको रूपान्तरणका लागि सक्षम राजनीतिक नेतृत्व अत्यावश्यक रहेको औंल्याए।

“देशमा छिटो आर्थिक परिवर्तन ल्याउन र विदेशिएका नेपालीलाई फर्काउन नीति र नेतृत्वमा ठूलो रूपान्तरण आवश्यक छ,” उनले भने, “बत्तीको उज्यालो मात्र होइन, मुलुकका सबै क्षेत्रमा उज्यालो छर्ने संकल्पसहित ‘उज्यालो नेपाल अभियान’ अघि बढाएको छु।”

उनका अनुसार आफ्नो कार्यकालमा विद्युत् उत्पादन पाँच गुणाले वृद्धि भई ८०० मेगावाटबाट ४ हजार मेगावाट नजिक पुगेको थियो। वार्षिक राजस्व रु. २५ अर्बसम्म पुगेको र जनसहयोगकै कारण प्राधिकरण आर्थिक रूपमा सबल बनेको उनले उल्लेख गरे।

स्पेन भ्रमणका क्रममा घिसिङले प्रवासमा रहेका नेपालीहरूसँग नेपालमा लगानी, विकास र रूपान्तरणका उपायबारे छलफल गरे। “५० लाखभन्दा बढी नेपालीले विदेशमा आर्जन गरेको अनुभव र सीपलाई नेपालको विकासमा जोड्नु जरुरी छ,” उनले जोड दिए।

उनले एनआरएन नागरिकताको पूर्ण कार्यान्वयनलाई पनि अपरिहार्य बताए।

कार्यक्रममा नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काका अध्यक्ष केशर बहादुर थापाले घिसिङजस्ता राष्ट्रसेवकको अनुभव सुन्न पाउनु गौरवको कुरा भएको बताए। त्यस्तै, एनआरएनए कोष्टाव्लाङ्काका अध्यक्ष विपिन कुमार बिसीलगायत अतिथिहरूले मन्तव्य राखे।

सो अवसरमा घिसिङलाई कदरपत्रसहित सम्मान गरिएको थियो। कलाकार सरोज लामिछानेले सांगीतिक प्रस्तुति दिएका थिए भने विभिन्न संघ–संस्थाले शुभकामना सन्देश पठाएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका