काठमाडौँ, ७ भदौ– नेपालमा पत्रकारिताको सुरुआत गर्ने व्यक्तित्व तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइँदैछ।
वि.सं. १९२३ साल भाद्रकृष्ण औँसीका दिन जन्मिएका भट्ट ३० वर्षको उमेरमा वि.सं. १९५३ साल भाद्रकृष्ण औँसीकै दिन परलोक भए। छोटो जीवन भए पनि उनले नेपाली साहित्यको श्रीवृद्धि र उन्नतिमा महत्वपूर्ण योगदान पुर्याए।
युवाकवि भट्टले नेपाली साहित्यमा शृङ्गार रसको विकास गरे, आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याए, र नेपालमै छापाखाना भित्र्याए। यही छापाखानाबाट नेपालमा पत्रकारिताको सुरुआत भएको मानिन्छ।
जन्मजयन्तीको अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रमहरू आयोजना गर्ने भएका छन्।


