सुदूरपश्चिम, ५ भदौ । कैलाली कारागारमा भएको झडप घटनाबारे छानबिन समितिले कारागारको आन्तरिक प्रशासनबीच मतभेद उत्पन्न भई घटना भएको निष्कर्ष निकालेको छ ।
समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार घाइते कैदीबन्दी, सुरक्षाकर्मी, प्रशासकसँगको कुराकानी र स्थल निरीक्षणपछि ‘ए ब्लक’ र ‘बी ब्लक’बीचको प्रशासनिक मतभेद नै घटनाको मूल कारण देखिएको हो । उनका अनुसार ‘सिसिटिभी फुटेज’ स्पष्ट नभएको र घाइतेले तोकेको व्यक्तिहरूले संलग्नता अस्वीकार गरेका कारण थप तथ्य पत्ता लगाउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यक छ ।
समितिले १० दिनभित्र प्रतिवेदन बुझाएको छ । साउन २३ गतेको झडपमा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए । गम्भीर घाइते तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ४१ जना डिस्चार्ज भए पनि धेरै कैदीबन्दी अस्पतालमै बसिरहेका छन् । उनीहरूलाई इच्छाअनुसार अन्य कारागारमा स्थानान्तरण गर्ने प्रक्रिया भइरहेको छ ।
घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको छ । कारागार शाखा प्रमुखमा पनि नयाँ अधिकारी पठाइएको छ । क्षमता १५० जनाको मात्र भए पनि हाल कैलाली कारागारमा ६९७ कैदीबन्दी रहेका छन् ।


