Sunday, November 8, 2026
Homeसामाचारपर्यटन विभागले सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने

पर्यटन विभागले सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने

काठमाडौँ । पर्यटन विभागले आफ्नो सेवा व्यवस्थित, सरल र प्रविधिमैत्री बनाउन पहल थालेको छ । विभागले कार्यसम्पादनलाई संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत नियमनमार्फत प्रभावकारी बनाउन जोड दिएको छ ।

हालै प्रकाशित वार्षिक प्रतिवेदनअनुसार विभागले पर्यटन प्रशासनलाई व्यवसायमैत्री, लगानीमैत्री र प्रविधिमैत्री बनाएर यस क्षेत्रमा आकर्षण बढाउने लक्ष्य लिएको छ । अन्तरराष्ट्रिय अभ्यासलाई राष्ट्रिय प्रणालीमा लागू गर्ने र पर्यटकीय गतिविधिको विकास तथा विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।

विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीका अनुसार विभागको कामलाई सरल र सहज बनाउन पहलकदमी गरिएको छ । उनले पहिलोपटक प्रकाशित वार्षिक प्रतिवेदनमा सम्पादन भएका काम, भावी योजना, चुनौती र आवश्यक सुधारका विषय समेटिएको बताए ।

“नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, जैविक सम्पदा र मानव निर्मित धरोहरको संरक्षण तथा प्रवर्द्धनमार्फत नेपाललाई अन्तरराष्ट्रियस्तरमा आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य बनाउन दीर्घकालीन लक्ष्य लिइएको छ,” महानिर्देशक रेग्मीले बताए । उनका अनुसार यसले दिगो गुणस्तरीय पर्यटन प्रवर्द्धन, रोजगारी र स्वरोजगारीका अवसर सिर्जना, पर्यटक सेवा, सुविधा र सुरक्षामा योगदान पुर्‍याउनेछ ।

विभागले पर्यटकीय पूर्वाधार विकास, गुणस्तरीय आतिथ्य सेवा व्यवस्थापन, साहसिक तथा पर्वतीय पर्यटनको प्रवर्द्धन र पर्वतारोहण व्यवस्थापनका क्षेत्रमा थप योजनासहित काम गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका