ढोरपाटन (बागलुङ), ४ भदौ — अर्धनग्न शरीर, अनुहार र छातीमा मोसो दलेका, कम्मरमा सेतो कपडा बाँधेका युवाहरु हातमा धुपीको हाँगो समातेर दौडिरहेका थिए। उनीहरूको पछि ढ्याङ्ग्रो ठटाउँदै झाँक्रीहरूको समूह आइरहेको दृश्य निकै अनौठो लाग्थ्यो। यस दृश्यलाई हेर्न निसेलढोरमा सयौँ मानिस भेला भएका थिए।
यो परम्परागत संस्कृतिलाई स्थानीयले ‘नांखा (गाउँ) पूजा’ भन्छन्। मगर खाम भाषामा नांखा पूजा भनिने यो पूजाको इतिहास करिब एक हजार वर्ष पुरानो रहेको मानिन्छ। प्रत्येक दुई वर्षमा आयोजना हुने यो पूजा पछिल्लो समय मेलाकै रूपमा विकसित भएको छ। भदौ १ गते विशेष गरी यसलाई धुमधामका साथ मनाइन्छ।
अनिष्ट टार्न सुरु गरिएको परम्परा
स्थानीय बुढापाकाका अनुसार, निसेलढोरमा विगतमा अनिष्ट बढेपछि गाउँ पूजाको सुरुवात गरिएको हो। इतिहासअनुसार, बस्ती बसाइँसराइ गर्दा हिँड्न नसक्ने बृद्ध–बृद्धालाई (जुजाजुजी) गाउँमाथिको ओडारमा छोडिएको थियो। पछि मृत अवस्थामा भेटिएका ती आत्माको शान्तिका लागि पूजा सुरु गरिएको र त्यसपछि गाउँमा अनिष्ट कम भएको विश्वास गरिन्छ। पूजापछि दुई वर्षसम्म रोग–व्याधी, मृत्यु र क्षति नहुने मान्यता रहँदै आएको छ।
भूत–प्रेत धपाउने अनौठो विधि
बराह थानमा पूजा सम्पन्न गरेपछि राक्षसको रूप धारण गरेका युवाहरु (कापै) उत्तरगंगा नदीमा उफ्रन्छन्। यसलाई भूत–प्रेतलाई गाउँबाट हटाइएको प्रतीक मानिन्छ। स्थानीय विश्वासअनुसार, झोलुङ्गे पुल वा काठको साँघुबाट नदीमा हाम फाल्दा तान्त्रिक विधिबाट सुरक्षित हुने भएकाले कुनै चोटपटक लाग्दैन। भूतलाई नदीमा खसाएपछि गाउँमा रोगव्याधी नलाग्ने, पशुपालन र कृषि उत्पादन राम्रो हुने मान्यता छ।
संरक्षणका लागि युवाको पहल
लोपोन्मुख संस्कृतिको संरक्षणका लागि निसीखोला गाउँपालिकाले बजेट विनियोजन गर्दै आएको छ। यस वर्ष नांखा पूजा व्यवस्थापन समितिमार्फत सञ्चालन गरिएको थियो। समितिका अध्यक्ष लक्ष्मण छन्त्यालका अनुसार, युवाहरूको सक्रियताले मात्र यो मौलिक संस्कृति जोगिन सक्छ। गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले यसलाई निसीखोलाको विशिष्ट सांस्कृतिक सम्पदा भन्दै प्राथमिकतामा राखेर संरक्षणमा काम भइरहेको बताए।


