Sunday, November 8, 2026
Homeसामाचारपूर्वतर्फ भन्दा पश्चिमतर्फ मनसुन सक्रिय, पहाडी क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पूर्वतर्फ भन्दा पश्चिमतर्फ मनसुन सक्रिय, पहाडी क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २९ साउन – मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने जनाएको छ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य भागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा, साथै मधेस प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी र तराई, वाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम बढ्ने, ठूला तथा साना नदीनालामा पानीको सतह उक्लन सक्ने र यातायात प्रभावित हुन सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका