लन्डन — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेप र कर्मचारी–व्यवस्थापनका चुनौतीबीच पनि नतिजा दिन सफल भएको दाबी गरेका छन्। अमेरिकाको दुई साताको भ्रमणपछि बेलायत पुगेका घिसिङले लन्डनमा आयोजित कार्यक्रममा आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा पु¥याएर अहिले आयातभन्दा पाँच अर्ब रुपैयाँ बढी बिजुली निर्यात गर्न सकिएको बताए।
उनले भने, “चार महिना बाँकी रहँदै सरकारले कार्यसम्पादन मूल्यांकनमा शून्य दिएर बर्खास्त गर्यो, तर देश–विदेशबाट पाएको सम्मान र सद्भाव नै मेरो वास्तविक सम्पत्ति हो।”
घिसिङले अहिले “उज्यालो नेपाल” अभियान लिएर प्रवासमा रहेका नेपालीलाई जोड्ने अभियान सुरु गरेको जनाउँदै यसको उद्देश्य नेपालमा समृद्धिको खाका कोर्नु, अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्नु र सक्षम राजनीतिक नेतृत्व टिम निर्माण गर्नु रहेको बताए।
सोमबार हिथ्रो विमानस्थलमा एनआरएनए यूके, तमुधिं यूकेलगायत संस्थाका प्रतिनिधिले घिसिङलाई स्वागत गरे। यूकेमा विभिन्न संघसंस्थाले उनको सम्मान तथा अन्तरक्रियासहितका कार्यक्रम तय गरेका छन्।
बेलायतमा रहँदा उनी १६औं नेपाली मेलामा विशिष्ट पाहुनाका रूपमा सहभागी हुनेछन्, स्कटल्याण्ड भ्रमण गर्नेछन् र युरोपका अन्य मुलुकमा समेत पुग्नेछन्। अमेरिकामा रहँदा उनले विभिन्न राज्यमा प्रवासी नेपाली समुदायसँग भेटघाट गरेका थिए र न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ समेत पाएका थिए।
युरोप र अमेरिकाको करिब एक महिनाको भ्रमणपछि घिसिङ साउनको अन्तिम साता नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।


