Sunday, November 8, 2026
Homeसामाचारकर्णालीको जगदुल्ला जलविद्युत् आयोजना निर्माण अगाडि बढ्यो, पाँच वर्षमा उत्पादन लक्ष्य

कर्णालीको जगदुल्ला जलविद्युत् आयोजना निर्माण अगाडि बढ्यो, पाँच वर्षमा उत्पादन लक्ष्य

काठमाडौँ, २८ साउन — कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना अब निर्माण चरणमा प्रवेश गरेको छ। बोलपत्र प्रक्रिया र विवादका कारण एक वर्ष ढिला भएको आयोजना प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र निर्माण कम्पनी जेसीई/एएनके जेभीबीच रु १२ अर्ब १८ करोडको निर्माण सम्झौता भएको हो।

२०७८ जेठमै वित्तीय व्यवस्थापन पूरा भइसकेको यस आयोजना नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत अघि बढ्नेछ। नबिल बैंकले रु ४ अर्ब ४० करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र कर्मचारी सञ्चय कोषले समान रु ४/४ अर्ब, लक्ष्मी सनराइज बैंकले रु २ अर्ब र एभरेष्ट बैंकले रु १ अर्ब ५० करोड लगानी गर्नेछन्। कुल रु २३ अर्ब लागतमा निर्माण हुने आयोजनामा रु १६ अर्ब ऋण र रु ७ अर्ब स्वपूँजी जुटाइनेछ।

पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण हुने यस आयोजनाको बाँधस्थल जगदुल्ला गाउँपालिकाको हुरीकोटमा २३ मिटर अग्लो र ३८ मिटर लामो ब्यारेज निर्माण गरिनेछ। विद्युत् गृह मुड्केचुला गाउँपालिकामा भूमिगत रहनेछ, जसमा ३५.५ मेगावाट क्षमताका तीन भर्टिकल एक्सिस पेल्टन टर्बाइन रहनेछन्। उत्पादित विद्युत् १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत बाफीकोट सवस्टेशनमा पठाइनेछ।

आयोजनामा कर्णाली प्रदेश सरकार, नेपाल विद्युत् प्राधिकरण, एचआइडीसीएल, कर्मचारी सञ्चय कोष, स्थानीय तह र निजी क्षेत्रको संयुक्त लगानी छ। निर्माण सम्पन्न भएपछि आयोजना वार्षिक ६२३.३२ गिगावाट प्रतिघण्टा ऊर्जा उत्पादन गर्नेछ। प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले आयोजना अध्ययन र डिजाइन गरेको हो, जसका कारण यो पूर्ण रूपमा स्वदेशी प्रविधि र लगानीमा निर्माण हुने ठूलो जलविद्युत् आयोजना बन्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका