जानकी (बाँके), २३ साउन। प्रत्येक वर्ष वर्षासँगै बाढीको त्रासमा बस्ने बाँकेको नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका बस्ती यस वर्ष आपत्कालीन तटबन्ध निर्माणपछि सुरक्षित भएका छन्।
नरैनापुरका ६० वर्ष नाघेका झिंगदेव वर्माले विगतमा राप्ती नदीको बाढीले कैयौं पटक बस्ती बगाएको र चाडपर्वमै घरबारविहीन हुनुपरेको स्मरण गर्दै भने, “यो बुढेसकालमा भए पनि आपत्कालीन तटबन्ध बनेको देख्दा ढुक्क लागेको छ।”
सोही गाउँकी रामप्यारी यादवले पनि यस वर्ष बाढीको चिन्ता नभएको बताउँदै भनिन्, “अघिल्ला वर्षमा महिलादेखि बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीसम्म प्रभावित हुन्थ्यौं। अब खासै डर छैन।”
यस वर्ष ‘जनताको तटबन्ध कार्यक्रम’ लमही दाङको पहलमा राप्ती नदीमा कटान रोक्न ४०० मिटर लामो आपत्कालीन तटबन्ध निर्माण गरिएको हो। सिमेन्टको पोल, बाँस, बालुवा भरिएका बोरा र जालीको प्रयोगबाट नयाँ प्रविधिमा बनेको यो तटबन्धले नदीको धार परिवर्तन गराएर तत्कालको जोखिम हटाएको आयोजना प्रमुख डा. नारायण सुवेदीले जानकारी दिए।
दुई वर्षअघि आएको बाढीले पुरानो पक्की तटबन्ध बगाएपछि बजेट अभावका कारण नयाँ तटबन्ध बनाउन ढिलाइ भएको थियो। जसका कारण करिब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए। तर, हाल छोटो समयमै तटबन्ध बनेपछि स्थानीयमा त्रास कम भएको छ।
राप्तीसोनारी–७ का दीपनारायण बर्माले यस वर्ष कटान रोकिने विश्वास व्यक्त गरे भने वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले “यो कामले राहत मिलेको छ” भने।
खल्ला झगडियामा आपत्कालीन तटबन्ध निर्माण सकिएपछि अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा तटबन्ध निर्माण सुरु हुने जनाइएको छ। खल्ला झगडिया क्षेत्रमा ४०० मिटर लामो पक्की तटबन्ध मंसिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले रु ६ करोड ५ लाखमा ठेक्का लिएर काम सुरु गरेको छ।


