काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार राजधानीमा विद्यार्थीहरूले राखेका ९९ प्रश्नको सामना गरे।
देशभरका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीका लिखित प्रश्न संकलन गरी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहाललाई एक–एक गरी प्रश्न सोधिएको हो। करिब ४५० प्रश्नमध्ये छनोट गरिएका ९९ प्रश्न सोधिएका थिए।
अधिकांश प्रश्नहरू शैक्षिक विकृति, शिक्षा प्रणालीका कमजोरी, व्यावहारिक र सीपमूलक शिक्षाको अभाव, बेरोजगारी र युवाको विदेश पलायनबारे केन्द्रित थिए। प्रश्नोत्तरको सहजीकरण पत्रकार रुपेश श्रेष्ठले गरेका थिए। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा विद्यार्थीका तिखा प्रश्नमा प्रेक्षालय ताली र हुटिङले गुन्जिरहेको थियो।
शिक्षा निजीकरणको प्रश्न
विद्यार्थी सुवास गौतमको “शिक्षा निजीकरणको दलदलमा पुग्दा किन ध्यान दिएनन्?” भन्ने प्रश्नमा अध्यक्ष दाहालले भने, “उच्च शिक्षा आयोग र विद्यालय शिक्षा विधेयकमार्फत सुधारको प्रयास गरिएको हो। तर ठूला पार्टीले यसतर्फ ध्यान नदिनु विडम्बना हो। उनीहरू शिक्षाको गुणस्तर र मेरिटोक्रेसी बढाउने पक्षमा छैनन्।”
विद्यार्थी श्याम साह र अजय शर्माको “जीवनोपयोगी शिक्षा खै? गुणस्तरीय शिक्षा किन छैन?” भन्ने प्रश्नमा दाहालले उत्तर दिए, “शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्छ। राज्यले नै शिक्षाको जिम्मा लिनुपर्छ र निजी शिक्षालाई निरुत्साहित गर्नुपर्छ।”
शिक्षा नीतिको कार्यान्वयनबारे
पत्रकार श्रेष्ठको “के नेपालको शिक्षा प्रणाली त्यही दिशामा अघि बढेको छ?” भन्ने प्रश्नमा दाहालले भने, “दुर्भाग्यवश शिक्षा नीति कार्यान्वयन हुन सकेको छैन। आफ्नै सरकारका बेलामा उच्च शिक्षा आयोग गठन गरी रोजगारमुखी प्रतिवेदन बनेको थियो तर त्यो प्रतिवेदन गायब पारियो। तेस्रोपटक प्रधानमन्त्री हुँदा कार्यान्वयनको चरणमा पुगेको थियो तर सरकार ढल्यो।”
विद्यार्थीहरूले सीपमूलक शिक्षाको अभाव, बेरोजगारी वृद्धि, उद्यमशीलताको कमी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर उपस्थितिको कारणबारे प्रश्न गरेका थिए। दाहालले यसका लागि ठूला पार्टी र सरकारको अवरोधलाई दोष दिए। विद्यालय शिक्षा विधेयक पारित भए धेरै समस्या समाधान हुने दाबी पनि उनले गरे।
क्रान्तिको खाँचो
दाहालले शिक्षा सुधारलाई अपरिहार्य भन्दै भने, “शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो। सुधार नगरी अन्य क्षेत्रमा प्रगति सम्भव छैन। अब अर्को क्रान्ति आवश्यक छ, तर त्यो सशस्त्र क्रान्ति होइन। सडकबाट दबाब नदिएसम्म उनीहरूको दिमागमा छिर्दैन।”
परम्परागत सोच र शिक्षाको निरन्तरतामा ठूला दलको संलग्नता रहेको आरोप लगाउँदै उनले आमूल परिवर्तनका लागि सामूहिक सङ्कल्प र प्रतिबद्धताको आवश्यकता औँल्याए। “शिक्षालाई सीपयुक्त र रोजगारीमुखी बनाउन राज्यले जिम्मा लिनुपर्छ,” उनले जोड दिए।
कार्यक्रम अघि जनवादी गायक जीवन शर्माले सिमली छायाँमा लगायत गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा पार्टीका विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्मा, अध्यक्ष विजय सापकोटा, उपाध्यक्ष मदन ढकाललगायतले धारणा राखे। कार्यक्रममा स्वर्गीय विद्यार्थी नेता विनोद अधिकारीकी आमा हरिमायालाई अध्यक्ष दाहालले दोसल्ला ओढाएर सम्मान गरेका थिए।


