Sunday, November 8, 2026
Homeसामाचारसुनसरीमा पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

सुनसरीमा पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

धरान (सुनसरी), २३ साउन। तीन दिनदेखि अविरल वर्षापछि गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छ भने १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्।

राति करिब १ः३० बजे खसेको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भाग पुरिँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भोटेले भने, “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो। बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घरको माथिल्लो भाग पुरियो।”

स्थानीय कौशल श्रेष्ठका अनुसार वर्षा सुरु भएयता पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको छ। घटनापछि तत्कालै घटनास्थल पुगेका वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका कार्य अघि बढाइने बताए।

उनका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर हाल उच्च जोखिममा छन्। वडा कार्यालयले क्षतिको विवरण संकलन गरिरहेको छ। गत वर्ष पनि यसै क्षेत्रमा पहिरो गएर बस्ती जोखिममा परेको थियो। त्यतिबेला वडाबाट रु ५ लाख र नगरपालिकाबाट रु १४ लाख बजेट विनियोजन गरी रोकथामका प्रयास गरिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका