Sunday, November 8, 2026
Homeसामाचारआकर्षक रोजगारीको सपना लिएर ग्रीस पुगेका नेपालीहरू अलपत्र

आकर्षक रोजगारीको सपना लिएर ग्रीस पुगेका नेपालीहरू अलपत्र

विराटनगर, २२ साउन – देशमा रोजगारीका अवसरको अभावका कारण नेपाली युवा–युवती वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन्। यस्तै अवसरको खोजीमा परदेशिएका कैयौँ नेपाली मानव तस्करको जालोमा परी विदेशमा शोषणमा परेको तथ्यहरू सार्वजनिक भइरहेका छन्।

पछिल्लो समय ग्रीसमा सयौँको संख्यामा नेपाली महिला पुर्‍याइएका छन्, जहाँ उनीहरू बन्धकजस्तै अवस्थामा कृषि श्रममा खटाइँदै श्रम शोषण भइरहेको पाइएको छ। पीडितका अनुसार ग्रीसमा नेपाली दूतावासको अनुपस्थितिका कारण उनीहरूले न्यायका लागि कुनै सरकारी संयन्त्रबाट सहयोग प्राप्त गर्न सकिरहेका छैनन्। अस्ट्रियास्थित नेपाली दूतावासले ग्रीस हेर्ने भए पनि दूरी र पहुँचको अभावले पीडितहरू थप समस्यामा परेका छन्।

मानव तस्करहरूले सर्बिया, टर्की लगायतका मुलुक हुँदै नेपालीहरूलाई ग्रीस पुर्‍याउने गरेका छन्। यसक्रममा तिनीहरूले एक हजारदेखि १५ सय युरोसम्म लिने गरेको बताइएको छ। पीडितका अनुसार वैध कागजातविनै ग्रीस प्रवेश गराइएका नेपालीहरूलाई गाउँका दुर्गम क्षेत्रमा लगेर कृषि कार्यमा खटाउने र पारिश्रमिकसमेत नदिने गरिएको छ। कतिपय अवस्थामा नेपालबाट भिजिट भिसामा दुबई पठाइएर त्यहाँबाट ग्रीस पुर्‍याइने गरिएको छ।

पीडितमध्ये एक जनाले रातोपाटीसँग ह्वाट्सएपमार्फत सम्पर्क गरी आफ्नो पीडा व्यक्त गरेका छन्। उनले भने, “हामीलाई बन्धकजस्तै गरी राखिएको छ। महिला धेरै छन्। दैनिक ९–१० घण्टा खटाउँछन्, तर ५० युरो पाउने ठाउँमा १०–१५ युरोमात्र दिइन्छ।” मोबाइलसमेत आफैंको नभई साथीसँग मागेर केहीबेरका लागि प्रयोग गरेको जानकारी दिएका उनले शारीरिक यातना दिने धम्कीसमेत पाएको बताएका छन्।

उनले नेपालमै सक्रिय मानव तस्कर गिरोहले पाकिस्तानी एजेन्टसँग मिलेर यस्तो कार्य गरिरहेको खुलासा गरेका छन्। नेपाली एजेन्टले विदेश जान चाहने युवासँग रकम असुली दुबई वा सर्बिया पुर्‍याएर त्यहाँबाट पाकिस्तानी एजेन्टलाई जिम्मा लगाउने र ग्रीसमा पुगेर ती नेपालीलाई नजरबन्द जस्तै राखेर श्रम शोषण गरिने गरेको जानकारी दिएका छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले पनि ग्रीसमा अवैध रूपमा पुगेका नेपालीहरूले ठूलो समस्या झेलिरहेको जानकारी दिएका छन्। उनका अनुसार, ग्रीसमा शोषणमा परेका नेपालीहरूको संख्या बढ्दै गएको छ र विभिन्न माध्यमबाट यस्ता सूचनाहरू आइरहेका छन्।

पीडितहरूले उद्धारको लागि नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल पहल गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका