काठमाडौँ, २२ साउन– मनसुनको समयमा सम्भावित प्राकृतिक विपद्लाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ।
काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी, ललितपुरको लेले र भक्तपुरको सानोठिमीमा बेस स्थापना गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, नायब महानिरीक्षक कालिदास धौवजीले जानकारी दिनुभयो।
अन्य प्रमुख स्थानहरू:
कोशी प्रदेश: मोरङको बखरी, ओखलढुङ्गाको हर्कपुर
मधेस प्रदेश: सप्तरी (भारदह, बर्साइन), सिरहा (मिल), धनुषा (दुवरकोट), महोत्तरी (रघुनाथपुर, बनौटा), सर्लाही (धरहरा), रौतहट (फतुवा), बारा (तेलकुवा, कलैया), पर्सा (पोखरिया)
बाग्मती प्रदेश: मकवानपुर (सुनौला), काभ्रे (खालथोक, मङ्गलटार), नुवाकोट (खरानीटार), चितवन (भालढुङ्गा), दोलखा (लिङ्कन बजार, सिङ्गटी), रसुवा (तातोपानी)
गण्डकी प्रदेश: पर्वत (खहरे), गोरखा (आरुघाट), पूर्वी नवलपरासी (चोरमारा), कास्की (छाचोक)
लुम्बिनी प्रदेश: बर्दिया (राजापुर), रुपन्देही (बुटवल), बाँके (कुण्डा, कचनापुर), गुल्मी (तुराङ्ग), पाल्पा (दोभान)
कर्णाली प्रदेश: जुम्ला (बड्की), मुगु (डिमुरखारा), जाजरकोट (दल्ली)
सुदूरपश्चिम प्रदेश: कैलाली (खानी डाँडा), डोटी (बुडर)
सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरू पहिचान गरी त्यहाँ उद्धार सामग्रीसहितको सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जनाएको छ। विपद्मा परेका नागरिकहरूको तत्काल उद्धार र सहयोग सुनिश्चित गर्न यी बेसहरू सक्रिय रूपमा परिचालित हुनेछन्।
प्रवक्ता धौवजीका अनुसार, विपद् व्यवस्थापनमा स्थानीय सहभागिता सुनिश्चित गर्न सशस्त्र प्रहरीले देशभर एक लाख ६८ हजार ९५६ जना विपद् सूचक तयार पारेको छ। साथै, ९९० जनालाई विपद् स्वयंसेवकको रूपमा अनुशिक्षण दिइएको छ।
सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्यमा प्रभावकारी सहयोग पुर्याउन आगामी दिनमा अझ व्यापक तयारी र समन्वयलाई प्राथमिकता दिने जनाएको छ।


