Sunday, November 8, 2026
Homeसामाचाररौतहटमा अविरल वर्षाले खेतमा पानी जम्यो, किसानमा राहतको महसुस

रौतहटमा अविरल वर्षाले खेतमा पानी जम्यो, किसानमा राहतको महसुस

रौतहट, २० साउन — रौतहटमा लगातार तीन दिनदेखिको आकाशे वर्षाले खेतहरूमा पानी जमेको छ। लामो खडेरीका कारण धाँजा परेको धान खेतमा वर्षाको पानी भरिँदा स्थानीय किसानमा आशा पलाएको छ।

वर्षा अभावका कारण धान रोप्न नपाएका र रोपिएको धानसमेत सुक्न थालेको बेला साउनको तेस्रो साता देखिएको पर्याप्त वर्षाले किसानलाई राहत दिएको स्थानीय मीनप्रसाद मैनालीले बताए।

“धेरै दिनको प्रतीक्षा पछि परेको पानीले रोपाइँ गर्न नपाएका खेतमा रोपाइँ गर्न र रोपिएको रोपो बचाउन सम्भव भएको छ,” उनले भने। साथै वर्षाले अत्यधिक गर्मी घटाएको र सुकेका बाला फेरि हरियालीमा फर्किएको मैनालीको भनाइ छ।

वर्षासँगै भारतीय पक्षबाट गण्डक नहरमा साढे ६ सय क्युसेक पानी छाडिएको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहका अनुसार गण्डक नहरको पानी ब्लक नम्बर १२ सम्म पुगेको छ, जसको लाभ रौतहटसम्म पुगेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ। सो अवधिमा रौतहटमा १५९ मिलिमिटर वर्षा मापन गरिएको छ।

लगातारको वर्षाका कारण बागमती तथा लालबकैया नदीको जलस्तर बढेको छ भने गौर नगरका केही सडक जलमग्न भएका छन्। यद्यपि जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार हालसम्म वर्षाबाट ठूलो क्षति भएको कुनै सूचना प्राप्त भएको छैन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका