काठमाडौँ, १८ साउन— देशभर सक्रिय मनसुनी प्रणालीका कारण नदीहरूको जलसतह बढ्दै गइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको छ। नदीको बहाव अझै बढ्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्र र डुबान हुने होचा भूभागमा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
यस्तै, पर्वत जिल्लाको कालीगण्डकी नदीको मोदी बेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तहको आसपास पुगेको छ। विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदी छेउका बस्तीहरूमा डुबान तथा भिरालो जमिनमा पहिरोको जोखिम उच्च रहेकोले सतर्क रहनु आवश्यक छ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सक्रिय रहेको छ। यसको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। अधिकांश प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने एकदुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज रातिसमेत देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकीलगायतका प्रदेशका तराई क्षेत्रहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भारी वर्षाको सम्भावना अझै कायमै रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


