काठमाडौँ — भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गर्ने भएका छन्। भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११:५५ बजे फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्नेछ। प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भ्रमणको जानकारी गराएका छन्।
साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) आयोजना हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा सहभागिता जनाउनेछन्। सम्मेलनमा नेपाल हाल एलएलडिसीहरूको अध्यक्ष भएकाले प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ।
करिब ४४ करोड जनसंख्या रहेका ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने यस सम्मेलनमा क्षेत्रीय पहुँचको अभाव, व्यापारमा पर्ने अतिरिक्त लागत, पारवहनका अवरोध र पूर्वाधार अभावका कारण उत्पन्न चुनौतीहरूमा छलफल हुनेछ। सम्मेलनले यी देशहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न नवीन रणनीति, साझेदारी र लगानीका उपायहरूमा केन्द्रित रहनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले अन्य देशका प्रतिनिधिहरू, संयुक्त राष्ट्रसंघका पदाधिकारी तथा अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, अन्य उच्च अधिकारी तथा सुरक्षाकर्मी सहभागी हुनेछन्।
एलएलडिसी सम्मेलनको दोस्रो संस्करण सन् २०१४ मा अस्ट्रियाको भियनामा सम्पन्न भएको थियो, जसमा ‘अल्माटी कार्ययोजना’को मूल्यांकनसहित नयाँ चुनौतीहरूमा छलफल गरिएको थियो। यसपटकको सम्मेलनले दिगो विकास लक्ष्य हासिल गर्न चुनौतीको सामना गरिरहेका राष्ट्रहरूलाई रणनीतिक सहयोगका माध्यमबाट सशक्त बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम छ।


